काठमाडौं – बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विद्युत प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द गर्न लागिएको हो ।
नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।
प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र रुपन्देहीको मैनहिया सब स्टेशनहरुबाट सञ्चालित बुटवल औद्योगिक क्षेत्रका उद्योग, कलकारखाना तथा घरेलु उपभोक्ताहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
यसबाट उद्योगको उत्पादन र मजदुरको रोजगारी प्रभावित हुने बुटवल औद्योगिक क्षेत्र उद्योग संघले जनाएको छ ।