धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने दाबी गरेका हुन् ।
प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरे ।
उनले मन्त्रिपरिषदमा अहिले ३ जना रहेको र बाँकी मन्त्री छिट्टै नियुक्त गर्नेबारे छलफल भइरहेको पनि बताए ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेर नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।