काठमाडौं-निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र– १ र बारा– २ मा पनि वैशाख १० मा उपचुनाव गर्ने भएको छ। सोमबार बसेको आयोगको बैठकले सो निर्णय गरेको हो।
तनहुँ १ बाट प्रतिनिधिसभाको लागि निर्वाचित रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा– २ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए। सांसद राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था भएकोले आयोगले निर्वाचन गर्न लागेको हो।
वैशाख १० मा चितवन– २ मा पनि उपचुनाव हुँदैछ। चितवन– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतले खारेज गरेको थियो।
आयोगका अनुसार तनहुँ– १ र बारा– २ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ। चैत १६ मा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ। दाबी जिरोध लगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।