काठमाडौं-उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सेवा प्रवाहमा सरलता र भ्रष्टाचार नियन्त्रणसहितको सुशासन आफ्नो मुख्य कार्यभार भएको बताएका छन् ।
‘सहज र सरल ढङ्गले जनताले सेवा पाउनुपर्छ, भोलि आऊ भनेर नागरिकलाई दुःख दिने काम अब चल्दैन, अब यसमा गम्भीर हुनुपर्छ, त्यसका लागि कर्मचारीलाई प्रशिक्षण दिइने छ र अभाव भएको ठाउँमा जनशक्ति थपिनेछ’, गृहमन्त्री श्रेष्ठले भने ।
उनले लैङ्गिक हिंसा बढ्दो क्रममा रहेकोप्रति चिन्ता प्रकट गरे । त्यस्ता घटनाको प्रभावकारी नियन्त्रण तथा पीडकलाई दण्डित गर्ने कुरामा आफ्नो ध्यान जाने बताए । उनले दलित उत्पीडितप्रतिको भेदभावमा कुनै छुट नहुने र त्यसका लागि जागरण अभियान बढाउनुपर्ने आवश्यकता औँल्याए ।
लागुपदार्थको दुर्व्यसनीले धेरै युवा प्रभावित भएका र त्यसतर्फ गृहप्रशासन गम्भीर रहेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले नेपाललाई लागुऔषध व्यापारको ट्रान्जिट हुनबाट रोक्ने बताए । उनले अपराध नियन्त्रणमा गम्भीर भएर लाग्ने, जेलको सुधार, अध्यागमनलाई प्रविधिमैत्री बनाउँदै वैदेशिक रोजगारीमा जाने युवालाई कसरी सहज बनाउने भन्ने विषयमा ध्यान गएको बताए । उनले विमानस्थलबाट हुने गलत प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनाए ।
राष्ट्रिय परिचयपत्रको उपादेयतालाई पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले नागरिकतालाई सहज र छिटो बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको बताए । उनले नागरिकताका कतिपय सवालमा राष्ट्रिय सहमति जुटाउने पहल भइरहेको पनि बताए । सुरक्षा निकायलाई शक्तिकेन्द्र र राजनीतिको दबाबबाट मुक्त राख्ने उनको भनाइ थियो ।