दार्चुला-हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै फेला नपरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । बर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखिएको छ ।
यता, ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच मध्ये तीनजनाको भने शव भेटिएको थियो । उनीहरु तीनै जनाको शव भारतीय सिमा हुदैँ तीन दिन पछि हिजो सदरमुकाम खलंगा ल्याईएको थियो ।
गत साता गएको हिमपहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीया कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविण कुँवर तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीया नक्नी डोमा थापाको शव भने परिवारजनलाई हस्तान्तरण गरिएको छ ।