काठमाडौं – अर्थमन्त्री डा.प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदैछन् ।
बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा. महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
गत आइतबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सोमबार र मंगलबार छलफल गरिसकेका छन् । दुई दिन छलफलमा भाग नलिएका सांसदहरुले बुधबार छलफलमा भाग लिने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभामा भने बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएर अर्थमन्त्री महतले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेका छन् ।
उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।