काठमाडौं– प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनवाइ हुँदैछ । २० प्रहरी अधिकृतहरुले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो।२० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । उक्त रिटको पेशी न्यायाधीश फुयालको एकल इजलासमा परेको छ ।
स्टाफ कलेजको प्रवेश परीक्षा समेत रोक्न माग गर्दै २० जना डीएसपीहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।रिट दायर गर्ने २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु छन् । डीएसपी रिपेन्द्र कुमारसहितका २० डीएसपीले सोमबार रिट दर्ता गराएका थिए । नेपाल प्रहरीमा २०७० मा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने तयारी गरिएको छ । त्रिविसँग सम्झौता गरेर प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ ।
स्टाफ कलेजको रुपमा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा कोर्समा गत २१ भदौमा हस्ताक्षर भएको थियो । त्यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रहरी एकेडेमीलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।