काठमाडौं-गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेका उच्च पदमा बढुवाको लागि छलफल थालेको छ । प्रहरीमा ६ जना एआइजी तथा १० डीआईजीमा बढुवाको तयारी छ ।
गत ४ चैतदेखि नै ती पद रिक्त रहेपनि तिव्र टक्करका कारण सहमति जुट्न नसक्दा रोकिएको थियो। अर्कोतर्फ १५ चैतको घटनापछि सिंगो प्रहरीले शान्ति सुरक्षामै केन्द्रीत हुन पुगेको थियो।
सो घटनाका नाइके दुर्गा प्रसाई पक्राउ परेसँगे अब अब गृह प्रशासनको टाउको दुखाई कम भएको छ ।
अर्कोतर्फ लामो समयसम्म बढुवा नहुँदा प्रहरीका विभाग तथा प्रदेशसमेत रिक्त भइरहेका छन्। जसकारण आगामी साता बढुवा निकाल्ने तयारीमा गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दिपक थापा छन्।
६ पदमा १६ डीआईजीबिच प्रतिस्पर्धा छ । अहिलेको बढुवाबाट प्रहरीमा तीन जनासम्म आईजीपी तय हुनसक्ने भएकाले पनि बढुवा पेचिलो बनेको हो।
सिनियर ब्याचबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा पोखरेल छन्। उनीहरुमध्ये खापुङ १९ भदौदेखि २७ कात्तिकसम्म आईजीपी हुनसक्ने भएकाले अहिले जसरी पनि १ नम्बरमा बढुवा हुने दाउमा छन्।
तर, कमजोर कार्यक्षमताका खापुङलाई २ महिनाका लागि आईजीपी बनाउन नहुने आवाज पनि संगठनभित्र उठिरहेको छ।
त्यसपछिको आईजीपीको दाबेदार २०५३ सालमा भर्ना भएको टोली छ। जसबाट शिद्धिबिक्रम शाह मुख्य दाबेदार छन्। उनीसँगै उमा चर्तुर्वेदी र सुशीलसिंह राठौरको पनि एआइजी हुने सम्भावना छ।
त्यस्तै, २०५४ सालको ब्याचबाट दानबहादुर कार्की पहिलो नम्बरमा छन्। उनीसँगै एआइजी भएका राजन अधिकारीलाई एमाले नेताहरुको साथ छ भने डा.मनोज केसी छुट्ने सम्भावना देखिएको छ। बढुवामा चलखेल गर्नेहरुमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका टोली अगाडी छन् ।
अहिलेको अवस्थामा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएको टोलिले सँगठन चलाउन नसक्ने भन्दै गृह मन्त्रालयमा बहस समेत हुन थालेको स्रोतले बतायो ।
उता यसअघि बढुवामा पछि पारिएका दिनेश आचार्य र ईश्वर कार्की पनि अहिले एआईजी बढुवामा मुख्य दाबेदार हुन्।