काठमाडौं-सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्रगतिबारे उनीहरुसँग छलफल गरेका हुन् ।
भेटमा शिक्षा मन्त्रीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी दिइन् ।
शुक्रबार भएको भेटमा सभामुख घिमिरेले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि सडक आन्दोलनमा उत्रेका शिक्षकहरूले सरकारले मागको सुनुवाइ नगरेसम्म कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने निर्णय गरेका छन् ।