AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • खेलकुद
  • नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

  • सोमवार, जेष्ठ ६, २०८२
नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं-नेपाल पहिलोपटक आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको हो।

सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले महत्वपूर्ण खेलमा जित निकालेपछि सुपर–३ को शीर्ष दुई स्थान पक्का गरेको हो।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् ।

अलराउन्डर रुबिना क्षेत्रीले १८ बलमा जोडेको २३ रन नेपालका लागि महत्वपूर्ण सावित भयो।

त्यसअघि नेपालका लागि ओपनर सम्झना खड्काले २१ रन बनाइन्। पूजा महतोले १३ रनको योगदान गरिन्।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी२० विश्वकपमा छनोट हुनेछन्।‍

यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर-३ मा पुगेको थियो। सुपर-३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएईले स्थान पक्का गरेका थिए।

यसअघि सुपर-३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई हराएको थियो। अब सुपर-३ को अन्तिम खेलमा नेपाल र आयोजक थाइल्यान्डबीच मंगलबार खेल हुनेछ।

सुपर-३ को अन्तिम खेलअघि शीर्ष स्थानको थाइल्यान्डको ८ अंक, नेपालको ७ अंक र युएईको ६ अंक भएको छ। युएईले सबै खेल खेलिसकेको छ।

सम्बन्धित समाचार