काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायतका दलहरुले गृहमन्त्रीको राजिनामा माग गर्दै संसदमा अवरोध गरिरहेका बेला सत्तारुढ दलनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार छिरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री पनि जोडिएको भन्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेर राजीनामा मागेपछि छलफलका लागि देउवा लेखकलाई लिएर प्रधानमन्त्री निवास पुगेका हुन् ।
सरकारलाई भोलि संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुपर्ने बाध्यता छ । त्यसैले पनि विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ ।
प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मङ्गलबारको संसद बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरेपनि सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान यथावत राखिरहेकाले आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेको छ ।
देउवा र लेखकसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल पनि बालुवाटार पुगेका छन् । विपक्षीहरुले संसद अवरुद्ध गरिरहेका बोला ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।