काठमाडौं– भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमको कैलालीस्थित गौरीफन्टा नाकाबाट भित्रिएका ३६ जनाको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।यद्यपि उक्त भाइरस भारतमा फैलिएको कोरोनाको नयाँ जेएन १ भेरिअन्ट हो या होइन भनेर पुष्टि भने भएको छैन । त्यसका लागि परीक्षण गरिने केन्द्रले जनाएको छ ।कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।
कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयले जनाएको छ ।भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सिमानाकामा सतर्कता अपनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । पछिल्लो समय भारतमा कोरोना तिव्र गतिमा फैलिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ भने एकै दिनमा ४ जनाको ज्यान गएको थियो ।