काठमाडौं-विगत २६ दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार संसद् बैठकमा विरोध गर्दै आएको छ । केही दिनसम्म उठेर विरोध गरेको रास्वपाले अहिले भने वेल घेर्नेदेखि पलेटीमारेर बस्नेसम्मको कार्य गर्दै आएको छ ।
आज पनि विरोधलाई निरन्तरता दिएको रास्वपा सत्तापक्षका सांसदहरु बोल्न थालेपछि बाहिरिएको थियो । रास्वपाको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले भने संसदीय कारबाही अगाडि बढाइरहेका छन् ।
सभामुख घिमिरेले रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को विरोधलाई कुनै मूल्यांकन नै गरेका छैनन् । आन्दोलन तुहिने संकेत पाएका रास्वपाका झण्डै आधा दर्जन सांसदहरु एकैपटक विदेश सयरमा निस्केका छन् ।
रास्वपा स्रोतका अनुसार अहिले पार्टीका कम्तीमा ५ जना सांसद विभिन्न कार्यक्रम बनाएर विदेश सयरमा हिँडेका छन् ।
कार्यवाहक सभापति डिपी अर्याल हिजो बेलुकी कतार लागेका छन् भने डा. तोसिमा कार्की अमेरिका पुगेकी छन् ।
पार्टीका अर्का सांसद गणेश पराजुली अष्ट्रेलियामा छन् भने हरी ढकाल र सोविता गौतम छिमेकी देश भारत गएका छन् ।