काठमाडौं-महंगो जग्गा सस्तोमा मिलाईदिने भन्दै विभिन्न वहानामा बैंक खातामा पटक–पटक पैसा हाल्न लगाई एक व्यक्ति फरार भएका छन् ।
नुवाकोटका बसन्तराज केसीले जग्गा मिलाइदिने भन्दै बुढानिलकण्ठ बस्ने जोशी थरका एक व्यक्तिले पटक–पटक गरेर माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकको ८१ लाख रुपैयाँको चेक केसीलाई दिए ।
केसीले चेक साटेर भुक्तानी लिएको एक वर्ष कटिसक्यो । तर, जोशीले भने न त जग्गा पाए, न त आफ्नो पैसा नै फिर्ता पाए ।
आफू ठगिएको भन्दै जोशीले साउन २७ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएका छन् । काठमाडौं प्रहरीका एक अधिकारी भन्छन्–‘केसीबाट गठिएका अन्य व्यक्तिले पनि उजुरी दिएका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले खोजी कार्य जारी छ ।’
आफ्नो ६३ लाख ठगी गरेको भन्दै डडेलधुरा घर भएकी आशा पार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले केसी विरुद्ध २०८१ फागुन ५ मा पक्राउ पुर्जी जारी गरेको थियो । तर, केसी पक्राउ परेका छैनन् ।
बाहिरै बसेर केसी राजनीतिक दबाबमा केस मिलाउन खोजिरहेका छन् ।
यी त उदाहरण मात्रै हुन् । ठगीका मास्टरमाइन्ड केसीले आफूलाई कांग्रेस नेता अर्जुन नरसिंह केसीको आफन्त भन्दै प्रभावमा पारेर विभिन्न व्यक्तिसँग विभिन्न बहानामा लाखौं रकम लिएर सम्पर्क विहिन बनेका छन् ।
इटा भट्टाका एक सञ्चालकसँग पनि केसीले लाखौं रकम लिएका छन् ।
उनी आफूलाई त्रिशुली अस्पतालको निर्देशक भन्दै हिड्ने एक पीडित बताउँछन् । तर, त्रिशुली अस्पतालको निर्देशक भने डा. राजेन्द्र लामा छन् ।
ठगीमा पक्राउ पुर्जी जारी भएका केसीसँग अनलाइन नेपालले प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनको दुबै फोन अफ भएकाले सम्पर्क हुन सकेन ।