काठमाडौं– चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।
उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । यस्तै रुसी राष्टपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रधानमन्त्रीको भेट भैसकेको छ ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । त्यही दिन प्रधानमन्त्रीसहितको प्रतिनधिमण्डल स्वदेश फर्कनेछ ।