काठमाडौं-सर्वोच्च अदालतले अर्को साताको आइतबारदेखि आंशिक रुपमा सेवा दिने भएको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।
पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- ‘सोही बमोजिम यस अदालतमा मिति २०८२/०५/२९ गते आइतबार देखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण वैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।
यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
बैठकले सर्वोच्च लगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, तोडफोड र लुटपाटबाट अदालतहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेको छ ।
गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि सर्वोच्चमा आगजनी र तोडफोड भएको थियो । त्यसयता सर्वोच्चको सेवा पूर्ण रुपमा अवरुद्ध छ ।