काठमाडौं-सिराहामा बालकको अपहरणपछि हत्या गरिएको घटनामा आठ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बालकका आफन्त र छिमेकसहित आठ जना रहेका छन् ।
आइतबार राति घर नजिकैबाट बेपत्ता भएका महतो मंगलबार बिहान आफ्नै घरदेखि करिब सय मिटर टाढा रहेको आँपको बगैचामा १७ वर्षीय अभिषेक महतो मृत भेटिएका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार अभिषेकको हातखुट्टा बाँधिएको अवस्थामा शरीरमा एसिड खन्याई हत्या गरिएको थियो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकतर्फ हिँडेका थिए। तर उनी घर नफर्किएपछि परिवारले रातभर गाउँमा खोजतलास गरेका थिए ।
सोमबार बिहान महतो परिवारको मोबाइलमा इमो मार्फत पाँच करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएपछि परिवारले तत्कालै प्रहरीलाई जानकारी दिएका थिए ।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । घटना गम्भीर भएको भन्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।