काठमाडौं-नेकपा एमालेको नेतृत्वलाई लिएर पार्टीभित्र विवाद थप गहिरिँदै गएको छ ।
असोज २४ गते गुन्डुमा बसेको सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको प्रस्ताव उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।
स्रोतका अनुसार, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा माग गर्दै अब पार्टी उनको नेतृत्वमा अगाडि नचल्ने स्पष्ट धारणा व्यक्त गरेकी छन् । उनले पुराना नेताहरूले पार्टीबाट बिदा लिनुपर्ने आवश्यकतामा जोड दिइन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन अपरिहार्य रहेको भन्दै यसमा सहमति जनाए । उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने सुझाव दिएको बताइएको छ ।
सचिवालय बैठक शनिबार पनि जारी रहनेछ । आगामी बैठकमा पार्टीको महाधिवेशन मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ ।