काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकता बोकेका केही मानिसहरूले जेनजी प्रदर्शनलार्ई हिंसात्मक बनाएको बताएका छन् ।
त्यस्ता व्यक्तिहरुले नै महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गर्दा जेनजी प्रदर्शन अपेक्षा गरिएकाभन्दा फरक बन्न पुगेको उनको भनाई थियो ।
७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले भने–‘आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए ।’
अभावमा रहेको प्रहरीलाई जेनजी प्रदर्शनमा भएको आक्रमणले थप प्रभाव पारेको गृहमन्त्रीको भनाई थियो। उनले भने–‘प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गृह मन्त्रालयले गम्भीरताको साथ प्रयास गर्नेछ ।’
कार्यक्रममा गृहमन्त्री अर्यालले प्रहरीप्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताउँदै उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
समारोहलाई सम्बोधनन गर्दै गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताए ।
गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताए ।
बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको बताए ।
समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए । साथै, गृहमन्त्री अर्यालले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरे ।
सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका–१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका–५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत–मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका–२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका–५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत–मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गरे ।
त्यसैगरी उनले नुवाकोट विदुर नगरपालिका–११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका–६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गरे ।
७० औँ प्रहरी दिवसको अवसरमा गृहमन्त्री अर्यालले ‘प्रहरी दर्पण २०८२’ को लोकार्पण एवम् नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको ‘प्रहरी स्मारिका, २०८२’ को लोकार्पण समेत गरे ।