दोलखा-दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित एलुङ रि हिमालमा गएको हिमपहिरोमा परी सात जनाको ज्यान गएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये पाँच जना विदेशी नागरिक र दुई जना नेपाली गाइड रहेका छन् ।
डीएसपी थापाका अनुसार सोमबार बिहान करिब १० बजेतिर हिमपहिरो गएको थियो। घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार, नेपाली र विदेशी नागरिकसहित १२ जनाको आरोहण टोली एलुङ रि गो हिमाल ९५,६३० मिटर० आरोहणका लागि गएको थियो। प्रारम्भिक जानकारी अनुसार पहिरो उच्च हिमाली क्षेत्रमा आएको र आरोहण टोली सोही समयमा मार्गमा रहेको बताइएको छ।
घटनापछि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सुरु गरेको छ। करिब ५० जनाको संयुक्त टोली घटनास्थलतर्फ खटिएको डीएसपी थापाले जानकारी दिए।
यसअघि, आरोहण टोलीमा १५ सदस्य रहेको प्रारम्भिक समाचार आएको थियो । तर कुल १२ जना मात्रै सो दलमा सहभागी रहेको खुलेको छ । उद्धार टोलीले अहिलेसम्म केही शव फेला पारेको र बाँकीको खोजी कार्य जारी रहेको छ ।