काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्। भेटका क्रममा नेपाल-चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकाले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई तथा सफल यात्राको कामना गरेकी थिइन्। उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाएकी थिइन्।
चीनबाट सदाझैं नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।