काठमाडौं-जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यु आदेशलाई थप निरन्तरता दिएको छ । आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्युलाई दिउँसो १ बजेसम्म विस्तार गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रशासनका अनुसार कर्फ्यु अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। वीरगञ्जको अवस्था तनावपूर्ण बनेपछि शान्ति–सुरक्षा कायम गर्न कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले विज्ञप्ति जारी गर्दै कर्फ्युको समय थप गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।
सीडीओ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध छ। यदि निस्कनै परेमा सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० मा फोन गरी जानकारी गराएर मात्र बाहिर निस्कनुहोला।’
टिकटकमा पोस्ट गरिएको एक भिडियोलाई लिएर मुस्लिम र हिन्दू समुदायबीच वीरगञ्जमा केही दिनदेखि तनाव बढ्दै गएको थियो। सोही तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सोमबारदेखि कर्फ्यु आदेश जारी गरेको हो ।