AarthikBikash
बुधबार, पुस २३, २०८२
  • होमपेज
  • राजनीति
  • सम्मानजनक सिट दिए कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने नेकपाको निष्कर्ष

सम्मानजनक सिट दिए कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने नेकपाको निष्कर्ष

  • मङ्लबार, पुस २२, २०८२
सम्मानजनक सिट दिए कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने नेकपाको निष्कर्ष

काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दलको मतभारको आधारमा सम्मानजनक सिट बाँडफाँट भए मात्र कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका हुन् ।

प्रचण्ड निवासमा आज विहान भएको छलफल नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने विषयमा केन्द्रीत रहेको बताइएको छ । दुई नेताबीच भएको छलफलले सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने, नभए एकल उम्मेदवारी दिने निष्कर्ष निकालेको हो ।

प्रचण्डको सचिवालयले भन्यो–‘नेकपालाई सबै सिट दिनुपर्छ भन्ने कुरा त भएन । सहमति नभए एकल उम्मेदवारी कुराकानी भएको छ । कांग्रेस र एमालेका कुनै पनि नेतासँग छलफल भएको छैन ।’

नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए ।

भारत प्रस्थान गर्नुअघि प्रचण्डले चुनावी तालमेलको विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । तीन दिनअघि उनले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकसँग पनि छलफल गरेको स्रोतको दावी छ ।

माघ ११ गते राष्ट्रिय सभामा १८ पदको लागि निर्वाचन हुँदैछ । फागुन २० गते पदावधि सकिनेमा साबिक माओवादी केन्द्रको ७, एमालेको ८, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको एक/एक जना छन् ।

कांग्रेसले ८ जना पाउनुपर्ने दाबी गरेको छ । तीन दलबिच तालमेलन गर्ने नै भए नेकपालाई दुई सिट दिन सकिने कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । तर नेकपाले कम्तीमा ५ सिट दाबी गरेको छ ।

सम्बन्धित समाचार