काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टीका तर्फबाट उम्मेदवार बनेको पुष्टि गरिन् । भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट कैलाली–६ बाट सदस्य बनेकी भण्डारीले २०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सचिव हुँदै २०५७ मा माओवादी जिल्ला सदस्य र एरिया इन्चार्जको जिम्मेवारीमा पुगेकी भण्डारी २०६० सालमा माओवादी कञ्चनपुरकी सेक्रेटरी थिइन् ।
२०६१ मा चुरे विशेष जिल्ला नेतृत्व सम्हालेकी उनी २०६२ देखि २०६४ सम्म माओवादीको केन्द्रीय सदस्य र बर्दिया सहइन्चार्ज थिइन् । २०७२ मा माओवादी फुटेपछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा लागेकी थिइन् । नयाँ शक्तिमा रहँँदा उनी २०७५ सम्म सुदूरपश्चिम इन्चार्ज थिइन् । नयाँ शक्तिमा जानुअघि २०६४ देखि २०७२ सम्म नेतृ भण्डारी माओवादी पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिइन् । नेतृ भण्डारी २०७५ मा एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । एमालेले उनलाई २०७८ मा पोलिटब्युरो सदस्य बनाएको थियो ।