काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको खल्तीको व्यक्तिलाई सांसद बनाउने गरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाएका छन्।
बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाएका हुन्।
उनले दुई पार्टीका शीर्ष नेताको नितान्त व्यक्तिगत सम्बन्धका मान्छेहरूलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताए।
उनले भने- ‘एमालेले पनि आफ्नो आवश्यकताअनुसार समुदाय र क्षेत्र छुट्याएको छ भने कांग्रेसले पार्टीका होइन, नेताका खल्तीका मान्छे बनाउन क्लष्टर लिएको देखिन्छ ।’
थापाले कांग्रेसबाट राष्ट्रिय सभाका लागि प्रस्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहका समिति जिल्ला वा क्षेत्रीयबाट सिफारिस नभएको बताए ।
उनले थप भने- ‘सिफारिसबिनै नाम पारित गर्दा संसदीय बोर्ड र केन्द्रीय समितिको मात्र होइन, जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस प्रक्रियाको समेत अपमान भएको छ ।’
प्रस्तावित नौ जनामध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको र योग्य मुस्लिम उम्मेदवारलाई जानीजानी बाहिर राखेर समावेशिताको मर्मलाई समेत बेवास्ता गरिएको थापाको आरोप छ ।