दमक – काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न झापा–५ पुगेका बालेन्द्र साह ‘बालेन’ यतिबेला नेपालगञ्ज पुगेका छन् । तर, उनकी श्रीमती सविना काफ्ले भने झापा–५ मै बसेर बालेनको लागि भोट माग्दै घरदैलो अभियानमा व्यस्त छिन् ।
दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिएको छ । मनोनयन दर्तासँगै केही दिन बसेर उम्मेदवार बालेन काठमाडौं हुँदै सुदूरपश्चिम पुगिसकेका छन् । तर, झापामा भने अहिले बालेनबिनै रास्वपाका स्थानीय नेता कार्यकर्ताले घरदैलो अभियान जारी राखेका छन् ।
आज बिहान दमक–९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो ।
घरदैलो र मतदाता भेटघाटका क्रममा रास्वपाका नेताहरूले स्थानीय समस्या, गुनासा तथा सुझाव संकलन गरिरहेका छन् ।
घरदैलो अभियानमा पार्टीका महिला र युवाको उल्लेख्य सहभागिता देखिएको छ । बालेनलाई भोट माग्न पत्नी सविना पनि दमकमै छिन् ।
दिउँसो ३ बजेदेखि कमल गाउँपालिका–५ स्थित पाडाजुगी चोकबाट घरदैलो सुरू गर्ने तालिका बनाइएको पार्टीले जनाएको छ ।
कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने बताइएको छ ।
सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम–२ बाट र कोर टीमका सदस्य केपी खनालले कैलाली–२ बाट उम्मेदवारी दिएका छन् । उनीहरुलाई नै जिताउने अभियानमा बालेन सुदूरपश्चिम पुगेका हुन् ।
झापामा रहँदा उनी विवादमा तानिएका थिए । झापामा उनले चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो । यद्यपी बालेनले उक्त गाडी त्यहीँ नै छोडेर आएका छन् । बालेनलाई महंगो लक्जरियस गाडी एक व्यवसायीले दिएका थिए ।