AarthikBikash
मङ्लबार, माघ १४, २०८२
  • होमपेज
  • राजनीति
  • पपुलिजम र एनार्किजम मिल्दा राज्य कमजोर हुन्छ : शंकर पोखरेल

पपुलिजम र एनार्किजम मिल्दा राज्य कमजोर हुन्छ : शंकर पोखरेल

  • मङ्लबार, माघ १४, २०८२
पपुलिजम र एनार्किजम मिल्दा राज्य कमजोर हुन्छ : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुश्मन ठान्ने बताएका छन् । यी दुवै प्रवृत्ति मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने गम्भीर खतरा उत्पन्न हुने उनको तर्क छ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘आजको देशभक्तिको विषय’ शीर्षकमा विचार सार्वजनिक गर्दै महासचिव पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने, तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ, एनार्किजमले व्यवस्था नै दुश्मन ठान्छ। दुवै मिल्दा राज्य कमजोर हुन्छ, नागरिक विभाजित हुन्छन्।’

पोखरेलले राष्ट्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नै आजको साँचो देशभक्ति भएको व्याख्या गर्दै भनेका छन्, ‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो, संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो, संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो।’ उनका अनुसार देशका मूल समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकतामा छन्। ती समस्याको समाधानका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको उल्लेख गर्दै उनले चुनावलाई त्यस उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।

पोखरेलले विश्वव्यापी सन्दर्भसमेत उल्लेख गर्दै शक्तिराष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्थालाई नै खल्बल्याएको र संयुक्त राष्ट्र संघ तथा अन्य विश्वसंस्थाहरू उपेक्षित बन्दै गएको बताए। सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा विश्वभर संवेदनशील बन्दै गएको अवस्थामा नेपालले अझ बढी सचेत हुनुपर्ने उनको भनाइ छ। ‘यस्तो बेला भूराजनीतिक द्वन्द्वबाट मुलुकलाई जोगाउन बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु होइन—समयमै सचेत हुनु हो,’ उनले लेखेका छन्।

सम्बन्धित समाचार