काठमाडौं– आफ्नै टिमबाट उम्मेदवारको सूचीमा परेका केपी खानलको क्षेत्रमा बालेन्द्र साह ‘बालेन’ नरोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता निरास बनेका छन् । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न झापा–५ पुगेका बालेन यतिबेला श्रमितीलाई झापामै छाडेर सुदूरपश्चिम पुगेका छन् । उनकी श्रीमती सविना काफ्ले भने झापा–५ मै बसेर बालेनको लागि भोट माग्दै घरदैलो अभियानमा व्यस्त छिन् ।
बालेन आफू निकट उम्मेदवार (कोर टिम मेम्बर) भूपदेव शाह र केपी खनाललाई जिताउने अभियानमा सहभागिता जनाउन हिजै सुदूरपश्चिम पुगेका हुन् । सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम–२ बाट र कोर टीमका सदस्य केपी खनालले कैलाली–२ बाट उम्मेदवारी दिएका छन् । तर, रास्वपाका वरिष्ठ नेता बालेन कैलाली–२ को घण्टी घरमा नरोकिकनै हिंडेपछि खनालसहित उनका कार्यकर्ता र समर्थक निराश भएका छन् ।
बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए । बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो । साढे ९ बजेतिर बौनिया पुगेका उनी त्यहाँ नरोकिएपछि समर्थकहरूले निराश बनेका हुन् ।
यद्यपी खनालले भने मन्वय अभावमा साहलाई त्यहाँ रोकाउन नसकिएको बताउँदै समर्थकहरुसामु बालेनलाई ल्याउने बाचा गरेका छन् । माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई पहिलो पटक सम्बोधन गरेर बालेन झापा पुगेका थिए । झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो । हिजो पनि बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले नेपालगञ्जमा भव्य स्वागत गरेका थिए ।