काठमाडौं– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको प्रहरी मुख्यालयले जनाएको छ । निर्वाचन प्रहरी चाहिए भन्दा थोरै दरखास्त परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ । अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा बुधवार लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मातहत परिचालन हुने गरी छानिन लागेका निर्वाचन प्रहरीलाई १५ माघमा नियुक्तिपत्र दिएर १० दिनसम्म आधारभूत तालिम र त्यसको १० दिनपछि २५ माघदेखि तोकिएको कार्यक्षेत्रमा खटाउन लागिएको हो ।
यता, सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको पनि छनोट चलिरहेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट गरिरहेको छ । सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ । प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम गराउने बताइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ १ सय १० र प्रत्यक्षतर्फ १ सय ६५ सदस्य गरी २ सय ७५ सिटमा एकै दिन चुनाव हुँदै छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट १ लाख ८८ हजार जनशक्ति चुनावी सुरक्षामा खटिँदै छन् । यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० गरी १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनाथ गर्न लागिएको छ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।