काठमाडौं– निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले तीन उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार र काठमाडौं–५ बाट उम्मेदवार निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सीके राउतविरुद्ध सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र पार्टीको झन्डा प्रयोग गरी तोरण बनाइ प्रदर्शन गरेको भन्दै उजुरी परेको थियो ।
उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत भएको दाबीपछि आयोगले स्पष्टीकरण मागेको जनाएको छ । यस्तै, रास्वपाका उम्मेदवार खगेन्द्र सुनारले गाईसम्बन्धी विषयमा साम्प्रदायिक विद्वेष फैलाउने आशयको अभिव्यक्ति दिएको भन्दै आयोगमा उजुरी परेपछि उनीसँग पनि स्पष्टीकरण मागिएको छ । काठमाडौं–५ बाट उम्मेदवार बनेकी निशा अधिकारीविरुद्ध भने विदेशमा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडमार्फत आफ्नो चुनावी अभियानलाई सहयोग गर्न सकिने विवरण पठाएको भन्दै उजुरी परेको आयोगले जनाएको छ । निर्वाचन आयोगले तीनै उम्मेदवारलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।