AarthikBikash
बुधबार, माघ २९, २०८२
  • होमपेज
  • राजनीति
  • भ्रष्टाचार नियन्त्रण गर्न हामीसँग पर्याप्त संरचना र कानुन छन् : प्रधानमन्त्री कार्की

भ्रष्टाचार नियन्त्रण गर्न हामीसँग पर्याप्त संरचना र कानुन छन् : प्रधानमन्त्री कार्की

  • बुधबार, माघ २९, २०८२
भ्रष्टाचार नियन्त्रण गर्न हामीसँग पर्याप्त संरचना र कानुन छन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको प्रसंसा गरेकी छन् । बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेकामा भने चिन्ता व्यक्त गरिन् ।

‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । पछिल्लो समय अझै सक्रिय र निर्भिक रूपमा सशक्त ढंगले आयोगले काम गरिरहेको पनि प्रधानमन्त्री कार्कीले टिप्पणी गरिन् । ‘मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो । समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा प्रत्याभूत हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

त्यसैले नै हरेक राष्ट्रले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने उनले बताइन् । ‘हाम्रो देशमा पनि संविधानमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको व्यवस्था गरेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्,‘यसले गर्ने कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारी एक प्रकारको डर अवश्य पैदा भएको छ ।’ नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताअनुरूप भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।

भ्रष्टाचार सम्बन्धी सुनुवाइका लागि विशिष्टकृत प्रकारको विशेष अदालत पनि नेपालमा रहेको उनले स्मरण गराइन् । ‘भ्रष्टाचार नियन्त्रण गर्न हामीकहाँ पर्याप्त संरचना छन् । पर्याप्त कानुनी र नीतिगत व्यवस्था छन्,’ उनले भनिन् । तर हामीकहाँ किन भ्रष्टाचार कम भइरहेको छैन भन्ने कुरा चिन्ताजनक रहेको उनले बताइन् । जेनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुने पनि बताइन् ।

सम्बन्धित समाचार