काठमाडौं– जबरजस्ती करणीको आरोपमा एक प्रहरी अधिकृतविरुद्ध जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् ।उनले निवेदनमा आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक–पटक यौन शोषण गरेको आरोप लगाएकी छिन् । गत असोज १ गते कार्यालयमा समस्या लिएर गएकी ती महिलालाई न्याय दिलाइदिन्छु भन्दै क्याफेमा कफी खान बोलाएर जबरजस्ती पटक-पटक यौन शोषण गरेको उनीमाथि आरोप छ ।
त्यसबेला जाहेरी गर्न प्रहरीकहाँ जान खोज्दा प्रहरी निरीक्षक महतले कुरा गर्ने नाममा बोलाएर उल्टै इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमा नै जबरजस्ती करणी गरी कुटपिटसमेत गरेको ती महिलाको भनाइ छ । साथै जाहेरीपछि आफूलाई महतका आफन्तहरुबाट धम्की आइरहेको पनि उनले बताएकी छिन् । जाहेरीपछि इन्स्पेक्टर महत हाल हिरासतमा रहेको चितवन प्रहरी स्रोतले बताएको छ ।