काठमाडौं – टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे ।
जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।