AarthikBikash
शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • निर्मल निवास र एयरपोर्टमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञा नमान्ने राप्रपाको घोषणा

निर्मल निवास र एयरपोर्टमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञा नमान्ने राप्रपाको घोषणा

  • शुक्रबार, फाल्गुन १, २०८२
निर्मल निवास र एयरपोर्टमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञा नमान्ने राप्रपाको घोषणा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। शाह आज झापाबाट काठमाडौं आउने कार्यक्रम छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन्।काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। त्यसका बाबजुद पनि राप्रपाका नेताहरू पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाने निश्चित भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

राप्रपाले पूर्वराजा आउने कार्यक्रमलाई लक्ष्य गरेर निषेधाज्ञा लगाएको भन्दै त्यसलाई नमान्ने जनाएको छ । श्रेष्ठले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा पार्टीको ब्यानर र झन्डा प्रयोग नहुने बताएका छन् ।  पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा नेता कमल थापा, महामन्त्री धवलशम्शेर राणा लगायतका नेताहरू सहभागी हुने भनिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि निषेधाज्ञा मान्य नहुने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्–‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो ? संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?’

यता, नेता कमल थापाले पनि आफू विमानस्थलमा उपस्थित हुने बताएका छन्। उनले पनि फेसबुकमा लेखेका छन्–‘विमानस्थलको सुरक्षा गर्नु सरकारको कर्तव्य हो। त्यसमा कसैले आपत्ति गर्नु जरुरी छैन। तर विमानस्थल बाहिर शान्तिपूर्णरुपमा उपस्थित भएर राजाको स्वागत गर्न कसैले छेक्न सक्दैन। हामी स्वागतमा जान्छौं। तपाईँको पनि उपस्थितिका लागि अनुरोध गर्दछु ।’ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि विमानस्थलमा आउन आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उनले भनेका छन्–‘देश बचाउन, धर्म जोगाउन, विदेशमा रहेका विखण्डित नेपाली परिवारलाई एकताबद्ध गर्न सम्पूर्ण देशप्रेमी, राष्ट्रभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फागुन १ गते दिनको ठीक ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलतर्फ उपस्थित भई कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन हार्दिक आह्वान गर्दछौं ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार विज्ञप्ती जारी गरी त्यस्ता कार्यक्रमबारे प्रशासनसँग कसैले पनि पूर्वस्वीकृति नलिएको बताएका छन्।

देश निर्वाचनमा गइसकेको अवस्था र आचारसंहिता पनि लागू भएको बेलामा यस्ता भेला र प्रदर्शनका लागि भएको आह्वानप्रति काठमाडौं प्रशासनले ध्यानाकर्षण भएको जनाउँदै निषेधाज्ञा जारी जनाएको छ ।  गत वर्ष फागुनमा पनि पूर्वराजा शाह पोखराबाट फर्किदा राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । पूर्वराजा शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन गरेका हुन् ।

दुर्गा प्रसाईसहित राप्रपाका केन्द्रीय नेताहरुले नै निषेधाज्ञा नमान्ने भन्दै आम सर्वसाधरणलाई पूर्वराजाको स्वागतका लागि विमानस्थल आउन आह्वान गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । एयरपोर्ट र ज्ञानेन्द्र निवास निर्मल निवासमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार