काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने प्रस्ताव अघि सारेका छन्।
बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहनेप्रस्ताव अघि सारेका हुन्।
उनले भने- ‘संघमा जम्मा १६ वटा मन्त्रालय र प्रदेशमा जम्मा ६ वटा मन्त्रालय रहनेछन् । अब कुनै पनि पार्टीले गठबन्धन गरे भागबन्डा गर्न मन्त्रालय बढाउन पाउँदैन । ‘
गठबन्धनको नाममा भागबन्डा गर्न कुनै पनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ ।
उनले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘हामी अबको पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउँछौँ,’ उनले भने ।
त्यस्तै, कार्यकारी पदमा दोहोरिने अवसर पनि सीमित गर्ने योजना पार्टीले अघि सारेको छ। प्रस्तावअनुसार एउटै व्यक्ति प्रधानमन्त्री वा मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी रहने व्यवस्था नरहने गरी नीतिगत प्रबन्ध गर्ने लक्ष्य राखिएको छ।
काँग्रेसले सरकारको आकार सानो बनाउँदा प्रशासनिक खर्च नियन्त्रण, कार्यक्षमता अभिवृद्धि तथा जिम्मेवारी स्पष्टता बढ्ने अपेक्षा व्यक्त गरेको छ।