काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।हालसम्म दुर्घटनामा मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ ।
मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
यो स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत ४० जना भन्दा बढी यात्रुहरु रहेको अनुमान छ ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको जानकारी आएको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।