काठमाडौं – आगामी निर्वाचनलाई लक्षित गर्दै देशभरको सुरक्षा अवस्थाको स्थलगत अध्ययन गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले आफ्नो प्रतिवेदन प्रहरी मुख्यालयमा बुझाएका छन् ।
सरकारले सातै प्रदेशको शान्ति–सुरक्षाको वास्तविक अवस्था, सम्भावित जोखिम र निर्वाचन अवधिमा आउन सक्ने चुनौतीहरूको मूल्याङ्कन गर्न सात जना एआईजीलाई फिल्डमा खटाएको थियो । उनीहरूले प्रदेशगत रूपमा सुरक्षा अवस्थाको विश्लेषण गर्दै संवेदनशील क्षेत्रहरूको पहिचान र आवश्यक सुरक्षा रणनीतिसहितको विस्तृत प्रतिवेदन पेस गरेका हुन् ।
आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्की समक्ष सातै प्रदेशमा पुगेर फर्किएका एआईजीहरूले आफ्नो अध्ययन प्रतिवेदन बुझाएका छन् ।
प्रदेशगत रूपमा जिम्मेवारी सम्हालेका एआईजीहरूमा कोसीमा राजन अधिकारी, मधेसमा डम्बर बहादुर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर तथा सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठ रहेका छन् ।
उनीहरूले निर्वाचन अवधिभर सम्बन्धित प्रदेशमा सुरक्षा समन्वयको नेतृत्व गर्नेछन् । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापन भने एआईजी ईश्वर कार्कीको कमान्डमा रहनेछ।
प्रहरी स्रोतका अनुसार प्रतिवेदनमा प्रत्येक जिल्लाको सुरक्षा अवस्था, सम्भावित संवेदनशील मतदान केन्द्र, विगतका घटना विश्लेषण, आपराधिक गतिविधिको अवस्था तथा राजनीतिक गतिविधिको मूल्याङ्कन समेटिएको छ।
जोखिम देखिएका स्थानमा अतिरिक्त सुरक्षा परिचालन, संयुक्त सुरक्षा गस्ती, निगरानी बढाउने तथा आकस्मिक प्रतिकार योजना तयारीका विषयमा समेत सुझाव दिइएको छ।