काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता साह प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गरेका हुन् । उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत सफल कार्यकालको शुभकामना दिएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ ओलीले लेखेका छन्।
झापा–५ बाट ओलीसंगै चुनाव लडेका बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए । यसअघि उपचारका लागि भन्दै हङकङमा रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पनि बालेनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए । ओली र देउवा दुवै जना शीतल निवासमा आयोजित शपथग्रहण कार्यक्रममा सहभागी थिएनन्। अरु पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शितल निवासमै बधाई दिएका थिए।