काठमाडौं– अमेरिका र इरानबीच दुई हप्ताका लागि गरिएको युद्धविराम सम्झौतामा इजरायलले समर्थन गरेको छ । तर, इजरायलले यो सहमति लेबननमा भने लागू नहुने स्पष्ट पारेको छ, जसले क्षेत्रीय तनाव अझै कायम रहने संकेत दिएको छ। इजरायलले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इरानविरुद्धका आक्रमण अस्थायी रूपमा रोक्ने निर्णयलाई समर्थन गरिएको हो । तर यो समर्थन सर्तसहित रहेको उल्लेख गरिएको छ ।
इजरायलले भनेको छ, “यदि इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्छ र अमेरिका, इजरायल तथा अन्य देशहरूमा हुने आक्रमण पूर्ण रूपमा बन्द गर्छ भने मात्र यो युद्धविराम प्रभावकारी हुनेछ।” यससँगै इजरायलले इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र विकास र आतंकवादी गतिविधिमा रोक लगाउने अमेरिकी प्रयासलाई पनि पूर्ण समर्थन जनाएको छ। इजरायलका अनुसार अमेरिका यी लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जानकारी आफूलाई दिइएको छ। विज्ञप्तिमा थप भनिएको छ कि आगामी वार्तामा अमेरिका, इजरायल र क्षेत्रीय साझेदारहरूबीच साझा रणनीति बनाइनेछ।