काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा व्यक्त गरेका हुन् । उनले भने- ‘निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा होइन, राष्ट्र निर्माणको साझेदार र आर्थिक इन्जिनका रूपमा हेर्न आवश्यक छ ।’ उनले नेपालको निजी क्षेत्रले भोगेको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्याएको योगदानको प्रशंसा गरे।
कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा चुनौती देखिएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सरकार र निजी क्षेत्र बिचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए । साथै उनले युवा पुस्तालाई देशको भविष्य भन्दै ‘ब्रेन ड्रेन’ रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।