काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावादमा आधारित नयाँ राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । पोखरेलले नयाँ शक्तिहरू रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रि बालेन्द्र शाहबीचको सम्बन्धलाई संकेत गर्दै विचार नमिल्ने समूहहरूबीच स्वार्थको टकराव बढ्दै जाँदा विभाजन हुने बताएका हुन् । उनले भने- ‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि उनीहरू मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव सुरु हुनासाथ विग्रह आउँछ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।’ उनले यस्ता शक्तिहरूले लोकतन्त्रका स्पेस खुम्च्याउने र विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रहार गर्ने प्रयास गरेको आरोप लगाए ।
त्यसैगरी पोखरेलले एमाले अधिनायकवाद र स्वेच्छाचारी प्रवृत्तिविरुद्ध दृढ रूपमा उभिने दाबी गर्दै संसद्मा पार्टीको संख्या कम भए पनि भूमिका निर्णायक रहने बताए । साथै पोखरेलले प्रधानमन्त्रीले संसद्मा पर्याप्त संवाद नगरेको भन्दै आलोचना गर्दै सुरक्षा निकायका कार्यक्रममा लामो समय बोल्ने तर जनताको प्रतिनिधि थलो संसद्मा बोल्न नआउने प्रवृत्तिमा पनि प्रश्न उठाएका छन् ।