काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि छेडखानी भए सदन र सडक दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने- ‘यदि यो संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौं। तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं।’
दाहालले वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले रचनात्मक काम गरे सकारात्मक सहयोग रहने बताए । तर संविधानमाथि छेडखानी, राष्ट्रिय हितमा आँच वा जनअधिकार कटौती हुने गतिविधि भए कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो ।
विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयास भएको भन्दै उनले सरकारलाई सचेत रहन आग्रह गरे ।
संविधान संशोधनबारे बोल्दै उनले आफूहरू संशोधनको विरोधी नभएको तर महिला, दलित, उत्पीडित वर्गको अधिकार विस्तार र संघीयता सुदृढ गर्नका लागि मात्र हुनुपर्ने धारणा राखे ।