AarthikBikash
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • समाज
  • भोटेकोशी बाढी असडेट: मृतकको संख्या १३६७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता

भोटेकोशी बाढी असडेट: मृतकको संख्या १३६७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता

  • बुधबार, भदौ २४, २०८३
भोटेकोशी बाढी असडेट: मृतकको संख्या १३६७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता

काठमाडौं – रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार २०८३ भदौ २४ गते बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३६७ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३६३ जनाको शव फेला परेको छ। नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

फेला परेका शवमध्ये हालसम्म १०२ जनाको सनाखत गरी परिवारलाई बुझाइएको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन सकिने व्यवस्था गरिएको छ।

५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० जना सम्पर्कविहीन छन्।

नुवाकोटबाट १ हजार ७८७ जना तथा विदेशी पर्यटकतर्फ करिब ५८७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। प्राधिकरणले सम्पर्कविहीनको तथ्यांकमा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिसमेत समावेश हुन सक्ने जनाएको छ। तथ्यांक रुजु गर्ने काम भइरहेको छ।

१३ हजार ६ सयभन्दा बढीको उद्धार

बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। विभिन्न १० अस्पतालमा ३२९ जनाको उपचार भएकामा २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यसमध्ये नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन्।

उद्धार गरिएका तथा विस्थापितलाई राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती सेन्टरमा हाल ३ हजार ६२८ जना रहेका छन्।

प्रभावित जिल्लामा १६ करोड राहत

सरकारले प्रभावित जिल्लामा तत्काल राहतका लागि १६ करोड रुपैयाँ नगद पठाएको छ। रसुवा र नुवाकोटमा १–१ करोड, धादिङमा ५० लाख तथा १५ वटा प्रभावित पालिकामा १३ करोड ५० लाख रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ।

सडक तथा हवाईमार्गबाट खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने काम जारी छ। प्रभावित क्षेत्रमा हाल ४९ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ। यस्तै, ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा देखिएको मानसिक तथा मनोसामाजिक समस्या सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएका छन्।

सम्बन्धित समाचार