काठमाडौं – गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै पहुँच मार्ग पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ।
बाढीका कारण अवरुद्ध आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने काममा उल्लेखनीय प्रगति भएको छ।
साथै, आयोजनाको वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बाढी आएको दिन भदौ १० मै नेपाली सेनाको टोली घटनास्थल पुगेर प्रारम्भिक रेकी गरेको थियो। त्यसपछि सुरुङको प्रवेश विन्दुमा जमेको दलदल हटाउँदै सेनाको टोली सुरुङभित्र प्रवेश गर्ने क्रममा दुई जनाको शव फेला पारेको थियो।
खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा काम गरिरहेका छन्। संयुक्त टोली सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरिसकेको छ।
सुरुङभित्र जमेको दलदल तथा अन्य अवरोध हटाउँदै बेपत्ताको खोजीलाई तीव्रता दिन बबक्याट एस्काभेटरसहित आयोजनास्थलमा उपलब्ध अर्को एस्काभेटरसमेत प्रयोग गरिएको छ।
उपकरणको सहायताले दलदल पन्छाउने, उत्खनन गर्ने तथा सुरुङभित्रको पहुँच सहज बनाउने काम निरन्तर भइरहेको छ।