AarthikBikash
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • समाज
  • किम्रुङखोलाको बहाव सामान्य, थुनिएको आशंका टर्‍यो

किम्रुङखोलाको बहाव सामान्य, थुनिएको आशंका टर्‍यो

  • बुधबार, भदौ २४, २०८३
किम्रुङखोलाको बहाव सामान्य, थुनिएको आशंका टर्‍यो

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलाको पानीको बहाव सामान्य अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोलाको बहाव एक्कासि कम भएपछि स्थानीयले खोला थुनिएको हुनसक्ने भन्दै प्रशासनलाई खबर गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार बुधबार बिहानसम्म किम्रुङखोला आफ्नै पुरानै गतिमा बग्न थालेको छ।

खोलाको बहाव कम भएको खबरपछि गाउँपालिकाले मंगलबार साँझ किम्रुङखोला र मोदीखोला आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन माइकिङ गरेको थियो। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहितको टोलीसमेत बहावको अवस्थाबारे बुझ्न वीरेठाँटी पुगेको थियो।

किम्रुङखोला वीरेठाँटीमा पुगेर मोदी नदीमा मिसिन्छ । मोदी नदी कास्की र पर्वतको वीरेठाँटी तथा नयाँपुल हुँदै बग्ने भएकाले खोलाको बहावमा आउने परिवर्तनले तटीय क्षेत्रका बासिन्दामा जोखिमको त्रास बढेको थियो ।

स्थानीयका अनुसार पहिरोले खोला थुनिएको आशंका गरिएको स्थानतर्फ जाने बाटोसमेत पहिरोले बगाएकाले त्यहाँ पुग्न सक्ने अवस्था छैन। यद्यपि, बुधबार बिहानसम्म खोलाको बहाव सामान्य भइसकेकाले तत्कालको जोखिम टरेको स्थानीयले बताएका छन्।

गत असार २८ गते आएको बाढीले यही किम्रुङखोलामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले घान्द्रुक जाने सडक, पुल तथा नदी किनारका होटलसमेत बगाएको थियो। हाल उक्त क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणको काम भइरहेको छ।

खोलाको बहाव सामान्य भए पनि पछिल्लो घटनालाई ध्यानमा राख्दै किम्रुङखोला र मोदी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार