संखुवासभा – पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
गएराति वर्षासँगै परेको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका स्थानीय २८ वर्षीय उमेश दाहालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल वाना लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि गम्भीर घाइते भएका छन् । उनीहरूको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।