काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गरेका हुन् ।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ बालेनले लेखेका छन्।
उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।