AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओलीसँग राजदूतहरूद्वारा सामूहिक भेट

एमाले अध्यक्ष ओलीसँग राजदूतहरूद्वारा सामूहिक भेट

  • बुधबार, भदौ ८, २०७९
एमाले अध्यक्ष ओलीसँग राजदूतहरूद्वारा सामूहिक भेट

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले आज पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गरेका छन् ।

अध्यक्ष ओलीसँग अमेरिकी राजदूत र्याण्डि बेरी, बेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले भेटवार्ता गरेका हुन् । भेटवार्तामा एमाले अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी थिए ।

भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख विपक्षी दल नेकपा (एमाले)को भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रिय स्तर र मान्यतामा ध्यान पुर्याउनुपर्छ भन्ने उहाँहरूको चासो र चिन्ता रहेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उनीहरुको भनाई थियो । सङ्क्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन हुनुपर्ने उनीहरुको साझा चासो र चिन्ता रहेको थियो । सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए ।

अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु न्यायोचित हुँदैन भन्ने मान्यता एमालेको रहेको स्पष्ट गरे । उनले ‘जिल्ला–जिल्लामा गई पीडितहरूको आवाज सुनेर र प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्नेमा दुःखको विषय सत्ता गठबन्धन आजको आजै, अ‍ैले नै हुनुपर्छ जस्तो ढङ्गले अगाडि बढेको देखिन्छ, त्यस्तो हुन सक्दैन’ भने ।

यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट गरे ।

Facebook Comments

सम्बन्धित समाचार