काठमाडौं– चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको हो ।एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म ६३ जना घाइते भएका छन् । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन्
राष्ट्रपति सीले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिए । नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी ले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लैजानसमेत निर्देशन दिएका छन् ।