काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले लोडसेडिङबारे सरकारले भ्रमयुक्त सन्देश प्रवाह गरेको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारबाट भ्रमयुक्त सूचना प्रवाह भएकामा आपत्ति जनाएका हुन् । नेपालमा विद्युत् आपूर्तिबारे ऊर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुरा बाझिएको उनले बताए। लोडसेडिङ हुन्छ भनेर ऊर्जामन्त्रीले भनिरहने र कार्यकारी निर्देशकले हुँदैन भन्दा सर्वसाधारणमा अन्योलमा परेको सांसद गैरेको भनाइ छ।
सांसद गैरेले भने,’मन्त्री भन्नुहुन्छ लोडसेडिङ हुन्छ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भन्नुहुन्छ ढुक्क हुनुस् लोडसेडिङ हुँदैन । यसखालको अभिव्यक्तिले एउटै सरकारबाट दिन खोजेको सन्देश के हो ? यसले देशलाई अन्योलर्फ लैजान्छ । एसईई चलिरहेको छ । उद्योग चलाउनुपर्छ ।’
समस्या समाधान गर्नुपर्नेमा सरकारबाट भ्रम फैलाउने कार्य भइरहेको उनले बताए । मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङबारे फरकफरक सूचना प्रवाह गर्न बन्द गर्न गैरेले आग्रह गरे ।
विद्युत क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा लाग्न उनले सुझाव दिए । नेपालमा लोडसेडिङ अन्त्य गरेको जस भारतलाई दिनुपर्ने भनी मन्त्री खड्काले दिइरहेको अभिव्यक्तिप्रति पनि सांसद गैरेले आपत्ति जनाए।